काठमाडौं- दोस्रो बजारमा लगानीकर्ताको सक्रियता बढेसँगै सस्ता मूल्यका शेयरको भाउ बढ्न थालेको छ। आधार मूल्यभन्दा कम तथा आधार मूल्यकै हाराहारीको शेयरमा लगानीकर्ताको सक्रियता बढ्न थालेको हो। सोमबार अधिकांश फाइनान्सको शेयर मूल्यमा सुधार आएको छ।
मर्जर प्रकृयामा सामेल हुन वाणिज्य बैंकले फाइनान्सलाई प्रयोग गर्दा फाइनान्सको शेयर मूल्यमा उछाल आएको हो। त्यस्तै कतिपय विकास बैंकहरु पनि वाणिज्य बैंकसँग मर्जर गर्ने तयारीमा छन्।
यसले गर्दा नेटवर्थ कमजोर भएका फाइनान्स तथा विकास बैंकको शेयर मूल्य समेत उछाल आएको छ। बजारमा मर्जरको हल्ला चलाएर पनि कतिपय फाइनान्सको शेयर मूल्यमा चलखेल भइरहेको छ। पछिल्लो समय युनाइटेड फाइनान्सलाई नविल बैंकसँग जोडेर, मञ्जुश्री फाइनान्सलाई एनआइसी एशियासँग जोडेर त कहिले आइसिएफसीलाई एभेरेष्ट बैंकसँग जोडेर बजार मूल्य उचाल्न खोजिएको छ।
सोमबार नेप्से सूचक ४.७३ अंकले घटेर १५६०.८३ अंकमा रोकिएको छ। अधिकांश समय रातो देखिएकाले दोस्रो बजारमा एक अर्ब ६९ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। आइतबार तीन अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको थियो। सोमबार फाइनान्स र विकास बैंकको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ।
कतिपय लगानीकर्ताले नाफा बुक गरिरहेका छन्। अर्कोतर्फ लगानीकर्ताहरु पहिलो त्रैमाशका लागि कर ब्याज र किस्ता भुक्तानी गर्न शेयर बिक्री गरिरहेका छन्। यसले गर्दा दोस्रो बजारमा सेलिङ प्रेसर बढ्ने गर्छ।
बैंकहरुले शेयर कर्जाका लागि नयाँ नयाँ स्किम ल्याएर लगानीकर्तालाई आकर्षित गरिरहेका छन्। बैंकको ब्याजदर धेरै नै तल झरेकाले पनि बजारमा सुधारका संकेत देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।