काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले ग्रानडालाई ६–१ ले हराएको छ। जसमा केही दिन अघि मात्र बार्सिलोनाबाट एथ्लेटिको गएका लुइस स्वारेजले दुई गोलका साथै एक गोलमा पास मिलाएर सफल डेब्यू गरे।
खेलमा ७०औँ मिनेटमा डिएगो कोस्टाको स्थानमा मैदान प्रवेश गरेका स्वारेजले पहिलो खेलमा नै दुई गोल र एक असिस्ट गर्न सकेका हुन्। बार्सिलोनामा नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेका स्वारेजले नयाँ क्लबमार्फत आफू अझै अब्बल भएको प्रमाणित गरेका छन्। बार्सिलोनाले फ्रि ट्रान्सफर अन्तर्गत आफ्नो उत्कृष्ट नम्बर ९ खेलाडी विकल्पबिना बेचेको थियो।
ग्रानडाविरुद्धको खेलमा ९औँ मिनेटमा नै कोस्टाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। खेलको ४७औँ मिनेटमा एन्जेल कोरेरा, ६५औँ मिनेटमा योआओ फेलिक्स, ७२औँ मिनेटमा स्वारेजको पासमा मार्कस लोरेन्टेले गोल गरेका थिए। त्यसपछि खेलको ८५औँ मिनेटमा र अतिरिक्त समयमा स्वारेजले गोल गरे।

खेलभर दबाबमा देखिएको ग्रानडाका लागि ८७औँ मिनेटमा मोलिना भिडाले गोल गरेका थिए। लिगका एथ्लेटिको मड्रिडको यो पहिलो खेल हो। पहिलो खेलमा नै उत्कृष्ट लयमा देखिएको डिएगो सिमोनको टिमले यसपटक ला लिगामा कडा टक्कर दिने देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।