काठमाडौं– खाडी तथा मलेसियामा गन्तव्य मुलुकहरुसँग दुई पक्षीय सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जोड दिएका छन्।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सहसचिव घिमिरेले महिला श्रमिकको सुरक्षा सुनिश्चितता हुने गरी मजबुत सम्झौता गरेर मात्रै घरेलुकामदार खुल्ला गर्न आबश्यक रहेको बताएका हुन्।
घरेलु कामदार खुल्ला गर्न चौतर्फी दबाब आएसँगै केही समय अगाडी प्रतिबन्धित मुलुकमा कार्यरत श्रमिकहरुको अबस्था अध्ययनका लागि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोली पुगेको थियो। उक्त टोली अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने क्रममा छ।
समितिले तत्काल घरेलु कामदार खुल्ला गर्न निर्देशन दिने भन्दा पनि गन्तव्य मुलुकहरुसँग महिलाका हकअधिकारको सुनिश्चितताको ग्यारेन्टी हुनेगरी सम्झौता गरेर मात्रै पठाउन निर्देशन दिनेमा आफू विश्वस्त रहेको सहसचिव घिमिरेको भनाइ थियो।
‘म आफैँ पनि साउदी अरबमा काम गरेर फर्किएकाले मैले आफ्नो अनुभव पनि सुनाएको थिएँ। घरेलु कामदारका रुपमा जाने महिलाहरुको दुई देशमा मजबुत सम्झौता नभई पठाउनु भनेको जोखिम मोल्नु हो,’ सहसचिव घिमिरेले भने।
गन्तव्य देशको अवस्था तथा श्रमिकहरुमा पनि सीपको विकास गरेर मात्रै घरेलु कामदारका रुपमा पठाउनु उचित हुने सहसचिव घिमिरेले जोड दिए।
२०७३ चैतदेखि तत्कालीन संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिले नेपाली कामदारलाई मलेसिया र खाडी लगायत मुलुकमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको छ।
सरकारले वैधानिक बाटो बन्द गरेपछि अवैधबाटो भारत हुँदै जानेको संख्या बढ्दा घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जाने अधिकांश महिला श्रमिकहरु जोखिममा परेको भन्दै घरेलु कामदार खुल्ला गर्न विभिन्न संस्था तथा व्यक्तिहरुले सरकारलाई दबाब दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।