काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहसहितको परिवारको कम्पनीले सोल्टी होटलको शेयर स्वामित्व बढाएको छ। हङ्कङको होलिडे इन्भेष्टमेन्टको शेयर पुर्व राजपरिवारको सोल्टी इन्टरप्राइजेजले खरिद गरेको हो। कम्पनीले खरिद गरेको शेयर मध्ये आइतबार दोस्रो बजारमा ८४ लाख २५ हजार कित्ता शेयर कारोबार भएको हो।
दुई पक्षबीच उद्योग विभागमा ‘सेल्स पर्चेज एग्रिमेन्ट’ संझौता भएपछि दोस्रो बजारमा कारोबार भएको हो। उद्योग विभागको सहमतिपछि कारोबार भएको हुनाले कम्पनीको शेयर मूल्य बजार मूल्यभन्दा धेरै कममा भएको छ। सोल्टी इन्टरप्राइजेजले ५६.०६ रुपैयाँको दरमा खरिद बिक्री गरेको हो।
आइतबार इन्टरप्राइजेजले होलिडे इन्भेष्टमेन्टको १० प्रतिशत शेयर खरिद गरेको हो। हाल सोल्टी इन्टरप्राइजेजको ३९ प्रतिशत शेयर स्वामित्व रहेको छ। अहिलेको कारोबारपछि राजपरिवारको हिस्सा ४९ प्रतिशत पुग्नेछ।
होटलको सहायक कम्पनीको रुपमा रहेको होलिडे इन्भेष्टमेन्टले आफ्नो लगानी फिर्ता लैजान लागेको हो। लगानी फिर्ता लगे पनि इन्भेष्टमेन्टको व्यवस्थापन भने कायमै रहनेछ। यस कम्पनीले विश्वका धेरै देशमा रणनीतिक साझेदारको रुपमा काम गर्दै आएको छ।
पछिल्लो समय यसले विश्वका आफ्ना सम्पुर्ण लगानी फिर्ता लिसकेको छ। यसको लगानी नेपालमा मात्रै थियो। त्यसैले गर्दा शेयर पुँजी बिक्री गरेर फिर्ता लान लागेको हो। यो कम्पनीलाई राज परिवारले सन् २००१ मा नेपाल भित्र्याएको थियो।
बजार मूल्यमा प्रभावित नहोस भनेर 'ब्लक कारोबार'
सोमबार कम्पनीको कारोबार बजार मूल्य भन्दा १३३ रुपैयाँ कममा कारोबार भयो। यदि वास्तविक मूल्यमा कारोबार भएको भए उक्त कारोबारले बजार मूल्यमा प्रभावित पार्ने थियो। धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को दफा १६ अनुसार उक्त कारोबार गरिएको नेप्सेले जनाएको छ। विनियमावली अनुसार ब्लक कारोबार यदि सूचिकृत संघठित संस्थाको चुक्ता पुँजीको एक प्रतिशत वा ५ करोड रुपैयाँ मध्ये जुन बढि हुन्छ त्यसैमा गर्न पाइन्छ।
हाल होटलको चुक्ता पुँजी ७३ करोड २६ लाख रुपैयाँ छ। दोस्रो बजारमा भएको कारोबारका आधारमा आइतबार ८ करोड ४२ लाख रुपैयाँ पुँजीको कारोबार भएको छ। सोमबार दोस्रो बजारमा ४७ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।