काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समितीले तत्काल पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा स्वच्छ, निष्पक्ष र खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्न माग गरेको छ।
क्रान्तिकारीले रिक्त सबै स्थानमा, स्वच्छ र निष्पक्षरुपमा बरिष्ठताका आधारमा नियुक्त गर्न पनि माग गरेको छ। पोखरा विश्वविद्यालयमा करिब १ वर्षदेखि नेतृत्वविहीन रहेको भन्दै क्रान्तिकारीले पदाधिकारी नियुक्त गर्न माग गरेको हो। त्यसैगरी रजिस्ट्रार र विभिन्न विभागमा सबै पद खाली रहेको पनि क्रान्तिकारीले विज्ञप्तिमा उल्लेख गरेको छ।
क्रान्तिकारीले सत्तारुढ पार्टीका नेताहरूबीच राजैनीतिक भागबन्डाको लुछाचुँडिका कारण विश्वविद्यालय नेतृत्वविहीन बनेको आरोप पनि लगाएको छ। त्यस्तै वैशाखदेखि ३ वटै संकायमा डिन, परीक्षा नियन्त्रक, विभिन्न केन्द्रका निर्देशन, एवं स्कुल निर्देशकहरूको पदसमेत रिक्त हुन गई विश्वविद्यालयको नियमित पठनपाठन, परीक्षा, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक काम अस्तव्यस्त बन्न पुगेका क्रान्तिकारीका पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समिति संयोजक ललित विकले बताए।
क्रान्तिकारीले कोभिड १९ का कारण अवरुद्ध पठनपाठन र परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न तथा अन्य प्रशासनिक कामकारबाही नियमित संचालन गर्न तथा विद्यार्थीको भविष्य सुनिश्चित गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।