काठमाडौं- यातायात व्यवसायी प्रकाश पन्त लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्छन्। उनी सरकारले पछिल्लो समय लकडाउनमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफूहरु निराश नै देखिएको बताउँछन्। ‘बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन्। निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन।’ उनी भन्छन्, ‘सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसक्ने अववस्था छ।’
उनी भाडामा डेढ गुना वृृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि आफूहरु मारमै रहेको र बैंकको किस्ता तिर्न समस्या परेको बताउँछन्।
उनले भन्छन्, ‘यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था छ। कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन्।’ यहाँबाट चल्ने लामोमात्रै नभई छोटो दूरीका सवारी धनी पनि यात्रु नआउँदा मारमा परेका छन्। ‘६ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ।’ व्यवसायी करनसिंह साउदले भन्छन्, ‘यात्रु नै नपाएपछि चलाएर पनि केही सहज होला जस्तो छैन।’
यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन्। यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात उनीहरुको माग छ। ‘सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गरेको औचित्य पूरा हुने देखिन्छ।’ व्यवसायी साउद भन्छन्, ‘अहिले त सडकमा घाटामा गाडी गुडाउनुपरेको छ।’
उनी यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाहा गरेर सहयोग गर्न सरकारसँग आग्रह गर्छन्। त्यसैगरी अर्का यातायात व्यवसायी जनकराज भट्टले सञ्चालन भएको यातायातलाई पनि थप व्यवस्थित गर्न माग गर्छन्। ‘यातायात नचल्दा यसक्षेत्रका मजदुरहरु पनि मारमा परे।’ उनी भन्छन्, ‘विपन्न र गरिबलाई स्थानीय सरकारले राहत दिएपनि यातायात मजदुर कसैको नजरमा परेनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।