काठमाडौं- साताको पहिलो दिन दोस्रो बजारमा ४.२९ अंकले सुधार भएको छ। सूचकमा सुधारसँगै कारोबार रकम पनि तीन अर्ब १३ करोड रुपैयाँको भएको छ। जम्मा १९१ वटा कम्पनीको शेयर कारोबार हुँदा ८० वटाको बढेको छ भने ८१ वटाको मूल्यमा गिरावट आएको छ। ९ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ।
५ वटाको सूचकमा सुधार देखिएको छ भने बाँकी सूचक भने घटेको छ। अधिकांश सूचकमा ओरालो झर्दा बैंकिङ सूचक १३ अंकले बढेको छ।
महंगा कम्पनी बेचेर सस्ता कम्पनी उठाउने क्रममा लगानीकर्ताको ध्यान बैंकको शेयरमा परेको छ।
आइतबार नेप्से सूचक सुधार हुने क्रममा १५७५ अंकसम्म पुगेकोमा अन्तिममा करेक्सन हुने क्रममा १५६५.५५ अंकमा झरेर बन्द भएको छ।
अझै केही वर्ष लाभांश दिन नसक्ने वेष्ट फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर १३३ रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै सोल्टी होटलको ब्लक कारोबार हुने क्रममा ४८ करोड ५६ लाख रुपैयाँको खरिद बिक्री भएको छ। उक्त ब्लक कारोबारका कारण दोस्रो बजारकै कारोबार रकममा उल्लेख्य सुधार आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।