काठमाडौं–पुनर्निर्माण भइरहेको धरहराको १५औं तला ढलान सकिएको छ। धरहरा निर्माणमा जिआइइटिसी–रमन जेभी संलग्न छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार अब ७ तला बाँकी रहेको छ।
भीमसेन थापाले निर्माण गरेको ११ तले धरहरा वि सं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो । गत २०७२ साल वैशाखमा आएको महाभूकम्पका कारण ध्वस्त भएको थियो। त्यसपछि सरकारले धरहरा २२ तलाको बनाउने निर्णय गरेको थियो। भूकम्प गएको पाँच वर्षपछि धरहराको १५ औं तला ढलान भएको हो।
यो बीचमा धरहराका विषयमा धेरै विवाद भएको थियो। काठमाडौंको सुन्धारामा निर्माणाधीन धरहराको १५ औं तलाको ढलान सम्पन्न हुँदा रानीपोखरीमा पनि पानी भरिन थालेको छ। नेपाल पुनर्निर्माण प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणको काम ४२ दशमलव पाँच प्रतिशत सकिएको छ । धरहरा पुनर्निर्माणका लागि दैनिक १५० कामदार नियमित रूपमा खटिएका छन्।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहरा पुनःनिर्माण सुरू गरेकोमा निर्माण सामग्री र कामदारको समेत अभाव भएपछि निर्माणको काम तोकिएको समयभन्दा केही पर धकेलिएको छ। ढिलो भए पनि धरहराको काम तीव्र रुपमा भइरहेको प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।