काठमाडौं- फ्रान्सका जुडोप्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको सहयोगमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेताद्वय पुनम श्रेष्ठ र देविका खड्कालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ।
सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट सहयोग गर्न आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।
जहाँ सृजनशिलमा रहेका जुडो खेलाडीका लागि म्याट प्रदान गरिएको हो। सहयोगका लागि किवानिस इन्टरनेसनल नेपाल डिस्ट्रिक्ट के ६९ को सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली राष्ट्रिय जुडो खेलाडीले मोहन बमले पहल गरेका थिए। गत नोभेम्बरमा नेपाल भ्रमणमा आएको बेला लाउरेन्टसहितको टोलीले सृजनशिल हातामा रहेको जुडो हल र खेलाडीका बारेमा जानकारी लिएका थिए।
सोही अवसरमा म्याट खरिदबाट बचेको रकमबाट सृजनशिलमा आश्रितका लागि खाद्यान्न सामाग्री पनि प्रदान गरिएको थियो। करिब १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराइएको किवानिस क्लब अफ एभरेष्टका संस्थापक अध्यक्ष दामोदर ढकालले जनाएका छन्। ढकालको पहलमा विगत ३ वर्षदेखि सृजनशिललाई वार्षिक ५ लाख रुपैयाँ पनि सहयोग गर्दै आएको कार्यक्रममा जानकारी दिइयो।
किवानिस नेपाल डिस्ट्रिक्टका लागि सन् २०२०–२१ का गभर्नर इलेक्ट एकराज पन्त, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले सृजनशिलकी सञ्चालिका उमादेवी बस्नेतलाई म्याट र खाद्यान्न एक कार्यक्रमबीच हस्तान्तरण गरे।
काँडाघारीस्थित सृजनशिल हातामा जुडो हल पनि निर्माण गरिएको छ। हाल त्यहाँ १० जना खेलाडीलाई जुडो प्रशिक्षक उत्तमप्रताप राणाले प्रशिक्षण दिइरहेका छन्।
कार्यक्रममा पन्तले विभिन्न जिल्लामा रहेको अनाथलयका जुडो खेलाडीका लागि किवानिसले सक्दो सहयोग गर्दै आइरहेको र भावी दिन पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए।
जुडो संघका अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलयमा रहेका जुडो खेलाडीले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बताए। अध्यक्ष वज्राचार्यले विभिन्न अनाथलय सञ्चालन गरिरहेका संघ संस्थाले जुडो खेल प्रति देखाएको लगावको प्रशंसा गर्दै जुडो खेलको विकासमा गरेको योगदानका लागि धन्यवाद दिए।
सञ्चालिका बस्नेतले सहयोगका लागि सम्पूर्ण टोलीलाई धन्यवाद दिदै यस्ता सहयोगले खेलाडीका साथै सञ्चालकको मनोबल उच्च पार्न सहयोग पुर्याएको धारणा व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।