काठमाडौं– कांग्रेस सांसदहरुले सरकारको लाचारी र गैरजिम्मेवार प्रवृत्तिका कारण बझाङमा दलित बालिकाको बलात्कारपछि हत्या भएको बताएका छन्। सरकारले बलात्कारका दोषीलाई कारबाही गर्न नसक्दा यस्तो घटना भएको उनीहरुको आरोप छ। ७ असोजमा बझाङ्गस्थित मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो।
महिला संघकी अध्यक्ष उमा रेग्मीले कामीको बलात्कारपछि हत्या घटनाले सरकार नागरिकको सुरक्षाप्रति चुकेको प्रष्ट भएको बताएकी छन्।
नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकार असफल भएको उल्लेख गर्दै कांग्रेस सांसदहरुले नेपाली महिलाहरु बलात्कृत हुने र ज्यान गुमाउनु पर्ने कहिलेसम्म भन्दै सरकारसँग प्रश्न गरेका छन्।
सांसद प्रकाश स्नेही रसाइलीले बलात्कार घटनामा विशेषगरी दलित समुदाय बढी शिकार हुने गरेको बताए। राज्यले जनतालाई सुरक्षा दिन नसकेको बताउँदै उनले सरकार असफल बन्दै गएको बताए।
प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्या डिला संग्रौलाले भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले शान्ति सुरक्षातिर ध्यान दिन नसेकेको आरोप लगाइन्। उनले भनिन्,‘सरकारसँग सुशासनको अपेक्षा गर्नु वैशाख/जेष्ठको मध्यान्ह गर्मीमा शीतलको अपेक्षा गर्नु जस्तो हुँदै गएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।