सांकेतिक तस्बिर
बागलुङ–बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ। निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवनसमेत चर्किएको छ।
दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए। पहिरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ। बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको शर्माको भनाइ छ।
‘स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की भासिएको छ, भवनको केही भाग चर्किएको छ’, शर्माले भने, ‘पहिरो निरन्तर गइरहेको र भिरालो जमिनमाथि स्वास्थ्य चौकी भवन भएका कारण ठूलो क्षति हुनसक्ने अनुमान छ।’ तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने स्वास्थ्य चौकी नै विस्थापित हुने खतरा छ। स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ। झण्डै रु एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको वडाध्यक्ष राजन जिसीले जानकारी दिए।
तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यक समन्वय भइरहेको बताए। झण्डै २०० मिटर लामो पहिरोका कारण लामाचौर जाने सडकमा समेत असर पु¥याएको छ। पहिरोले स्वास्थ्य चौकीमुनिका तीन घरसमेत जोखिममा परेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।