काठमाडौं- विभिन्न १३ विद्यार्थी संगठनहरुले बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकाको हत्यारालाई कडा कारबाहीको माग गरेका छन्।
संगठनहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै बझाङको मष्टा गाउँपालिका-२ की कक्षा ५ मा अध्ययनरत १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरिएको विषयले सिंगो राष्ट्र लज्जित भएको भन्दै अपराधीलाई कडा कारबाही र मृतकका परिवारलाई न्यायोचित क्षतिपूर्ति गर्न माग गरेका हुन्।
‘बालबालिकाहरूमाथि बारम्बार बलात्कार र हत्या हुनुले समाजमा अपराधका घटनामा कमी आएको छैन भन्ने देखाएको छ’ वक्तव्यमा भनिएको छ, ‘समाजमा बलात्कार र हत्याजस्ता जघन्य अपराध हुन नदिन सरकार, विभिन्न सरकारी संयन्त्रहरू र आम जनताले सचेततापूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ।’
गत बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामीको हत्या भएको अवस्थामा शव फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।