काठमाडौं-नेपाल–चीन सीमामा विवाद देखिएपछि स्थलगत अध्ययनमा निस्किएको हुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चिरञ्जीवी गिरी नेतृत्वको संयुक्त सुरक्षा टोली ५ दिनपछि सदरमुकाम सिमीकोट फर्किएको छ।
सिडिओको टोली स्थलगत अध्ययन सकेर बिहीबार साँझ साढे ८ बजेतिर सिमीकोट आइपुगेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले जानकारी दिए।
‘हिजो राति सिमिकोट पुगेको खबर पाएको थिएँ, ’ अध्यक्ष लामाले भने, ‘रेखांकन गरेर फर्किएको सुनेको छु, अब सार्वजनिक होला भवन निर्माण भएको क्षेत्र कता पर्छ भनेर।’
सिडिओको टोलीले दुई दशकयता फेला नपरेको नेपाल चीन सीमाको ११ नम्बर पिल्लर फेला पारेको थियो।
नाम्खा गाउँपालिका ६ को लाप्चा क्षेत्रमा चीनले एकतर्फी रूपमा व्यापारिक प्रयोजनका लागि भवन बनाएपछि चार वटै सुरक्षा निकायका प्रमुखसहित सिडिओको टोली शनिबार सीमा निरीक्षणमा निस्किएको थियो। चिनियाँ पक्षले उक्त क्षेत्रमा ९ वटा व्यापारिक भवन निर्माण गरेको थियो।
भवन निर्माण क्षेत्रमा अनुगमनका पुगेको टोलीलाई चिनियाँ पक्षले नक्सा देखाएर भवन बनाएको भूभाग चीनकै भएको दाबी गरेका थिए। त्यसपछि नेपाली टोली सो क्षेत्रमा पर्ने ११ नम्बर पिल्लरको खोजीमा लागेको थियो। पिल्लर फेला नपर्दा नेपाली टोलीले चिनियाँ पक्षलाई जवाफ दिन सकेको थिएन।
बुधबार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले पिल्लर फेला पारेसँगै चिनियाँ भवन कसको भूमिमा पर्छ भन्ने निष्कर्ष निस्केको छ।



प्रतिवेदन आजै गृहमा पठाइँदै
स्थगलत अध्ययनको प्रतिवेदन शुक्रबार गृह मन्त्रालय पठाउने तयारी जिल्ला प्रशासन कार्यालय हुम्लाले गरेको छ। स्थलगत रुपमा देखिएको विवरणलाई गृहमा पठाउन प्रमुख जिल्ला अधिकारी गिरि बिहानदेखि प्रतिवेदन लेखनमा व्यस्त रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
स्थलगत अध्ययन , भवन निर्माणको अवस्था, ११ नम्बर पिल्लर र अन्य जानकारीसहितको प्रतिवेदन गृहमा पठाएपछि मात्र सार्वजनिक गर्ने तयारी जिल्ला प्रशासनले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।