कावासोती–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भीरबाट खसाल्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भीरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिशचन्द्र केसीको मृत्यु भएको हो। गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।
बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो। बस खस्दा अन्य छ जना घाइते भएका छन्। घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसमा १८ जना सवार थिए।
यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसेर राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुनसकेको छैन। गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजे पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।