काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय समितिको निर्वाचन सार्न फेरि चलखेल सुरु भएको छ। सुरुदेखि निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने भन्दै एक समूहले अदालतमा मुद्दा दायरको तयारी भइरहेको स्रोत बताउँछ।
एन्फामा नेतृत्वको दाबी गरिरहेको मणि कुँवर समूहका केही व्यक्तिहरु ६० दिनको निर्वाचन प्रक्रिया फेरि सुरु हुुनुपर्ने भन्दै अदालत जान लागेका हुन्। जसकारण बहुप्रतिक्षित एन्फा चुनाव फेरि अन्योलमा पर्ने सम्भावना देखिएको छ।
निर्वाचन रोक्न उच्च अदालत पाटनबाट भएको आदेश गत बुधबार खारेज भएसँगै आगामी २२ गते निर्वाचन हुने पक्का भएको थियो। तर, चुनावको परिणाम आफु अनुकुल नहुने आँकलन गरेर कुँवर समूहले चुनाव रोक्न अर्काे मुद्दा हाल्ने तयारी गरेको एन्फा स्रोत बताउँछ। निर्वाचनको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको अवस्थामा रोक्नका लागि अनेक चलखेल भइरहेका छन्। यसले एन्फा र नेपाली फुटबललाई थप कमजोर बनाउने एन्फाका एक सल्लाहकार बताउँछन्।
सम्बन्धित समाचारः एन्फा निर्वाचन : अन्तरिम आदेश खारेजीसँगै यसरी बढ्नेछ प्रक्रिया
२२ गते हुने निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुँदै छ।
निर्वाचनमा ७७ जनाले भोट हाल्नेछन्।
प्रतिनिधिहरुको संख्या यस्तो छ-
जिल्ला – ४५
ए डिभिजन क्लब – १४
बी डिभिजन – ९
सी डिभिजन – ५
प्रशिक्षक संघ – १
रेफ्री संघ – १
महिला संघ – १
खेलाडी संघ – १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।