काठमाडौं– एक महिनाभन्दा बढीको अन्योलपछि अन्तत: अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय समितिको निर्वाचन हुने पक्का भएको छ। यसअघि तय भएको निर्वाचन रोक्न पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश बुधबार खारेज भएसँगै निर्वाचन हुने पक्का भएको हो।
एन्फाले आगामी बैसाख २२ मा निर्वाचनका लागि तयारी थालेको छ। 'हामीले अन्तरिम आदेश खारेज भएको पत्र हिजो साँझ पाएका छौं। योसँगै निर्वाचनको विषयमा देखिएको अन्योल हटेको छ। एन्फा सचिवालयले हिजैदेखि निर्वाचन प्रक्रिया थालेको छ,' एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले नेपाल लाइभसँग भने।
श्रेष्ठका अनुसार निर्वाचनको मितिबाहेक अन्य प्रक्रिया यसअघि निर्धारण भए अनुसार नै हुनेछ। उम्मेदवारको मनोनयदेखि फिर्ता लिने समय यसअघि नै सकिएको थियो। 'मितिबाहेक अन्य केही प्रक्रिया परिवर्तन छैन। एजेन्डा पनि एउटै हुनेछ,' श्रेष्ठले भने।
केन्द्रीय निर्वाचनका लागि एन्फाले सबै जिल्ला र संघलाई आजै पत्र पठाउनेछ। 'निर्वाचनका लागि प्रतिनिधि पठाउन एसियाली फुटबल महासंघ (एएफसी) लाई पनि आजै पत्र पठाउँछौं,' अध्यक्ष श्रेष्ठले बताए।
एएफसी, जिल्ला र संघलाई जानकारी गराएपछि आन्तरिक काम मात्र बाँकी रहने एन्फाले जनाएको छ।
अध्यक्ष श्रेष्ठले निर्वाचन हुने प्रक्रियामा जान लागेकोमा खुसी व्यक्त गरे। 'निर्वाचन नियमित प्रक्रिया हो। हामी विधान अनुसार निर्वाचन गरेर नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्न आतुर छौं,' उनले भने।
२२ गते हुने निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुँदै छ।
निर्वाचनमा ७७ जनाले भोट हाल्नेछन्।
प्रतिनिधिहरुको संख्या यस्तो छ-
जिल्ला – ४५
ए डिभिजन क्लब – १४
बी डिभिजन – ९
सी डिभिजन – ५
प्रशिक्षक संघ – १
रेफ्री संघ – १
महिला संघ – १
खेलाडी संघ – १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।