काठमाडौं- गत भदौ १५ गतेदेखि पूर्ण रुपमा बन्द रहेका रसुवागढी–केरुङ नाका बुधबारबाट एकतर्फी रुपमा संचालनमा आएपनि मौसमको प्रतिकुलताका कन्टेनरहरु भन्सार जाँचपासका लागि नआएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काकाअनुसार पछिल्लो तीन सातादेखि बन्द नाकाबाट बुधबार एउटा कन्टेनर जाँचपासका लागि आएको थियो। ‘हिजो एउटा कन्टेनर आयो। आज पनि ५ वटा कन्टेनर छोड्न उनीहरु तयार छन्। तर मौसम प्रतिकुलताका कारण सामान झार्न सकिएको छैन भन्ने बुझिएको छ।’ खडकाले नेपाल लाइभसँग भने‚ ‘उतैको कामदार र कन्टेनरले मितेरी पुलमा सामान झार्ने र त्यहाँबाट नेपाली कामदार तथा कन्टेनरले ल्याउने गरी नाका खोल्ने सहमति भइसकेको छ।’
उनका अनुसार नेपाल विद्युत प्राधिकरणको ढल्केबर शाखाका मेसिनरी सामानहरु बिहीबार भन्सार जाँचपासका लागि आउने भनिएपनि वर्षाका कारण लोड अनलोड हुन नसकेपनि कुनै पनि कन्टेनर भन्सार यार्डमा आइपुगेका छैनन्। तर नाका खोल्ने सहमति भइसकेकाले अब निरन्तर कन्टेनरहरु चीनबाट नेपाल आउने उनको खड्को भनाइ छ।
कोभिड- १९ महामारी संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ बाट लकडाउन घोषणा गरेसँगै रसुवागढी–केरुङ नाका पनि पूर्ण रुपमा बन्द भएको थियो। दुई देशबीचको यो व्यापारिक नाका खोल्न नेपालले राखेको प्रस्तावमाथि सकारात्मक जवाफ दिँदै चीनले सामान निर्यातका लागि मात्रै नाका खोल्नेगरी गत असार २२ गतेदेखि पुनः सञ्चालन गरेको थियो।
गत असार १० गते नेपाल र चीनका अधिकारीहरुबीच बसेको बैठकले दुई देश जोड्ने मितेरी पुलसम्म चिनीयाँ कन्टेनरबाट सामान ल्याउने र त्यहाँबाट सामान लोड गरी नेपाल ल्याउन नेपाली कामदार तथा सवारी नै प्रयोग गर्ने सहमति भएको थियो। त्यस्तै चीनबाट सामान ल्याउने कामदारको पनि कोरोना परीक्षण गर्ने तथा उनीहरुलाई आइसोलेनमा राखी ढुवानीको कामलाई निरन्तरता दिने सहमति भएको थियो। पुरानो यही सहमतिका आधारमा अहिले पनि नाका खोल्न चीन सहमत भएको भन्सार प्रमुख खड्काले बताए।
त्यस्तै चीनसँगको अर्को व्यापारीक नाका तातोपानी–खासा भने २०७२ सालको विनाशकारी भूकम्पका कारण बाटो बिग्रिएपछि हालसम्म पनि संचालनमा आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।