काठमाडौं- माइक्रोफाइनान्समा शेयर लगानी गर्नेले १० वर्षसम्म लाभांश लिन नआउने शेयरधनीको पैसा बैंकिङ विकास कोषमा जम्मा हुने भएको छ। यसअघि लघुवित्तको लाभांश ५ वर्षसम्म लिन नआउने शेयरधनीको पैसा तोकिएको खातामा जम्मा गर्नुपर्ने व्यवस्था थियो।
नेपाल राष्ट्र बैंकले 'घ' वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन २०७६ को संशोधन परिमार्जन र थप व्यवस्था गर्ने क्रममा लघुवित्तले १० वर्षसम्म लाभांस दिन नआउने शेयरधनीको पैसा बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थप गरेको हो।
त्यस्तै संस्थाले १० वर्षदेखि कारोबार नभएको बचत खाता र हक दाबी नपरेका निक्षेपहरु तथा वितरण नभएको लाभांशको विवरण १० वर्ष अवधि समाप्त भएको एक महिनाभित्र राष्ट्रिय स्तरको पत्रिकामा कम्पनीमा एक पटक प्रकाशन गर्नु पर्ने व्यवस्था गरेको छ।
सूचना प्रकाशित हुँदा समेत त्यस्तो खाता नियमित नभएमा र निशेध रकम भुक्तानी नभएमा उक्त रकमलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम बैकिङ विकास कोषमा जम्मा गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।