चौतारा- सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण विस्थापित भएका मानिसहरुलाई तत्काल सुरक्षित स्थानमा सार्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ।
राप्रपा क्षेत्र नं २ सिन्धुपाल्चोक क्षेत्रीय कार्यसमितीको तर्फबाट क्षेत्रीय अध्यक्ष फणिन्द्रप्रसाद दाहाललगायतको प्रतिनिधी मण्डलले प्रमुख जिल्ला अधिकारीलाई विस्थापित बस्तीहरुको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन्। बुधबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई ध्यानाकर्षण पत्र बुझाउँदै राप्रपाले अविरल वर्षा भइरहेकाले जोखिममा रहेका अन्य बस्तीहरुको पनि ध्यान दिन आग्रह गरेको छ।
सिन्धुपाल्चोक जिल्लास्थित हेलम्बु गाँउपालिकाको बोल्दे, जुगल गाँउपालीकाको लिदी बाहबिसे, भोटेकोशीलगायतका गाउँहरुमा बाढी पहिरो पीडितहरुलाई तत्काल राहतलगायतका व्यवस्था गर्न पनि माग गरेको छ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले तत्काल यो मागलाई प्रधानमन्त्रीको कार्यलय, पुनर्निर्माण विपद् व्यवस्थापनलगायतका कार्यलयहरुमा पठाई कार्यन्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको क्षेत्रीय अध्यक्ष दाहालले बताए।
राप्रपाले जिल्लाका पहिरो गएका सबै क्षेत्रमा पुगेर राहत र उद्धारमा खटिएको र आफ्ना कार्यकर्तालाई सहयोग गर्न निर्देशन दिएको दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।