काठमाडौं- डा गोविन्द केसीमाथि प्रहरीले गरेको जबर्जस्तीको सामाजिक सञ्जालमा भर्त्सना गरिएको छ।
जुम्लामा अनसन सुरू गरेका डा केसीले काठमाडौंमै अनसनलाई निरन्तरता दिनको लागि मंगलबार आएका थिए। विमानस्थलबाट टिचिङ अस्पतालका लागि चढेका केसीलाई एम्बुलेन्समै रहेका प्रहरीले ट्रमा सेन्टर पुर्याएका थिए। साथै, डा केसीको इच्छा विपरीत ओरालेका थिए।
सार्वजनिक भएको भिडियोमा डा केसीले ओर्लन नमानेपछि प्रहरीले जबर्जस्ती गरेको देखिन्छ। आफूलाई जबर्जस्ती गरिएपछि डा केसीले प्रधानमन्त्री केपी ओली विरूद्ध नारा लगाएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले यो शासन राजाको निरंकुश पञ्चायती शासन हो कि ओलीको कमाउनिस्ट शासन हो भन्दै प्रश्न गरेका छन्। डा केसीका माग पुरा गर्न नसकेपनि सत्याग्रहीलाई सम्मान गर्न सिक्नुपर्ने भन्दै उनले डा केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गर्न आग्रह गरेका छन्।
‘यो राजाको निरंकुश पंचायती शासन हो कि ओलीको ‘कमाउनिस्ट’ शासन हो?’ डा भट्टराईले ट्वीट गर्दै भने‚ ‘डा. के सी का जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक! स्वास्थ्य क्षेत्रको सुधार निम्ति डा. केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं!’
त्यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले डा केसीप्रति गरेको अपमानजनक व्यवहार अकल्पनीय र अक्षम्य भएको भन्दै सरकारले आफ्नो पतनको बाटो आफैं खनेको आरोप लगाएका छन्। मंगलबार दिउँसो एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन्।
‘सत्याग्रहीमाथीको दुर्व्यवहार: क्रुरताको पराकाष्टा! सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाइँदैन। तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।’ उनले लेखेका छन्‚ ‘क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्न सक्छ। सरकारले आफ्नो पतनकाे बाटो आफैं खनेको छ।’
त्यसैगरी कांग्रेसका अर्का नेता शेखर कोइरालाले पनि डा केसीलाई सरकारले अभद्र व्यवहार गर्दै अपहरण शैलीमा नियन्त्रणमा लिनु आपत्तिजनक र निन्दनीय भएको बताएका छन्। ट्वीटमार्फत् उनले नगरिकले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने संवैधानिक हकमाथिको राज्यको निर्लज्जता र बर्बरतापूर्ण काम बन्द गर्न माग समेत गरेका छन्।
‘सत्याग्रहमा बसेका डा गोविन्द केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै जसरी अपहरण शैलीमा नियन्त्रणमा लियो‚ त्यो अत्यन्तै आपत्तिजनक र निन्दनीय छ।’ उनले लेखेका छन्‚ ‘नागरिकले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न पाउने संवैधानिक हकमाथीको राज्यको यस्तो निर्लज्जता र बर्बरता काम तुरुन्तै बन्द गरियोस्।’
लेखक आन्बिका गिरीले क्रुरता र निचताको पराकाष्ठा भएको बताएकी छिन्। 'क्रूरता र निचताको पराकाष्ठा ! यो डा केसीलाई मात्र हैन, हामी नागरिकको हैसियतलाई पनि भुइँमा लतारेको हो । खबरदारी गरौं, बोलौं', उनको आग्रह छ।
त्यस्तै लेखक हरि शर्माले डा केसीमाथिको व्यवहार अशोभनीय र लज्जास्पद भएको लेखेका छन्।
'डा गोविन्द केसीलाई राज्य, शासन प्रशासन प्रहरीले गरेको व्यवहार अशोभनीय र लज्जास्पद छ। नेपाली नागरिक हु भन्न गाह्रो भयो कहॉ लुक्ने', ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।