काठमाडौं- नाफा बुक गर्ने क्रममा दोस्रो बजारमा भारी गिरावट आएको छ। मंगलबार एकै दिन शेयर बजारमा २२.९१ अंकको गिरावट आएको छ। एक महिनाको अवधिमा १७४ अंकले सुधार भएको पछि केहि दिनदेखि करेक्सन हुन थालेको हो। यस अगाडि सुधार भएको बजारबाट नाफा बुक गर्ने क्रममा करेक्सन हुँदै आएको छ।
मंगलबार शेयर बजारमा १.४६ प्रतिशतले गिरावट भएर १५४६.१५ अंकमा झरेको छ। सम्पुर्ण सूचक तथा उपसूचकमै गिरावट आएको छ। मंगलबार १९९ वटा कम्पनीको कारोबार हुँदा जम्मा ९ वटाको मूल्य मात्रै बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। नविल बैंक सँगको मर्जरको हल्ला चलेको युनाइटेड फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
गएका दिनमा थोरै शेयर भएका जलविद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै आएकोमा मंगलबार ती कम्पनीमा नकारात्मक सर्किट लागेको छ। मंगलबार वाणिज्य बैंकको सूचक २२ अंकले गिरावट हुँदा जीवन बीमाको सूचक १०९ अंक र निर्जीवन बीमाको सूचक ११२ अंकले गिरावट आएको हो। शेयर बजार लगातार सुधार हुँदैन। नाफा हुँदा बुक गर्ने र बढ्छ भन्ने अनुमानमा खरिद गर्ने लगानीकर्ता बढी हुन्छन्।
नाफा बुक गर्ने तथा घटेको समय भन्दै खरिद गर्ने लगानीकर्ताको सक्रियतामा मंगलबार दुई अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।