काठमाडौं–वीर अस्पतालमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले ‘आफूले न्याय कहिले पाउने’ भनेर सरकारसँग प्रश्न गरेकी छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै गंगामायाले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कहिले सजाय हुन्छ भनि प्रश्न सोधेकी छन्।
‘हत्या गरिएको मेरो छोरा कृष्णप्रसाद अधिकारीको न्यायका लागि मैले यत्तिका वर्षसम्म संघर्ष गरेकी छु’ गंगामायाले अपिलमा भनेकी छन्, ‘मेरा पतिको देहान्त भएको छैटौं वार्षिकीमा म सरकारलाई प्रश्न गर्दछु न्याय कहिले पाइन्छ?’
उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा मृत्यु भएको पाँच वर्ष बितिसक्दा पार्थिव शरीरलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बाकस नं ४ मा राखिएको छ ।
‘न्याय नपाउन्जेलसम्म म उहाँको पार्थिव शरीरको अन्तिम संस्कार नगर्ने प्रतिज्ञा गरेर बसेकी छु’ उनले भनेकी छन् ‘ एक दशकभन्दा बढी अवधिसम्म न्यायका नाममा मैले सरकारबाट झुटा प्रतिज्ञामात्र पाएकी छु।’
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको द्वन्द्वकालमा युद्धरत माओवादी पक्षले चितवनमा हत्या गरेका थिए। अधिकारीको २०६१ जेठ २४ गते चितवनको बकुल्लहर चोकमा हजुरबुवा, हजुरआमा भेट्न जाँदा हत्या भएको थियो। हत्या हुँदा उनको उमेर जम्मा १७ वर्षको थियो। छोराको हत्यारालाई कारबाही माग गर्दै अधिकारीपरिवार सर्वोच्चसम्म पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।