काठमाडौं–त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
६ दिनदेखि पदाधिकारीलाई प्रवेशमा निषेध गरिरहेका संघका कार्यकर्ता हटाउने क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हाे। आन्दोलनका क्रममा संघका त्रिवि इकाइका सचिव योगेन्द्र रावलसहित दिपक ओझा र रुपेश शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्रिविमा हुने नियुक्तिमा नेकपाले दलीयकरण गरेको संघको आरोप छ। त्रिविमा हुने नियुक्तिमा प्राज्ञिक मर्यादा र क्षमतालाई बेवास्ता गरेको संघले जनाएको छ। नियुक्ति प्रक्रियामा पारदर्शीता तथा शैक्षिक सुधारलगायतका माग गर्दै संघका कार्यकताले त्रिविमा आन्दोलन गर्दै आएका छन्।
‘अहिलेका पदाधिकारीले त्रिविलाई इतिहासकै सबैभन्दा विकृत बनाएका छन्,’ संघका त्रिवि इकाई अध्यक्ष हरि आचार्यले भने,‘अपारदर्शी नियुक्तिको विरोध र शैक्षिक संस्था सुधारका माग गर्दा गरिएको हस्तक्षेपको प्रतिकार गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।