काठमाडौं–सरकारले देशको एक मात्रै सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री सपको सट्टा ड्युटी पे सप सञ्चालन गर्ने भएको छ।
विमानस्थल कार्यालयले विमानस्थलमा ‘ड्युटी पे सप’ सञ्चालनका लागि टेन्डर सूचना प्रकाशन गरेको छ।
विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको प्रस्थान कक्षमा ‘ड्युटी पे सप’ सञ्चालनका लागि टेन्डर आह्वान गरेको हो।
विमानस्थलमा ‘ड्युटी फ्री’ पसल सञ्चालन गर्न नदिने सरकारको निर्णयपछि खाली रहेको स्थानमा ‘ड्युटी पे मदिरा सप’ सञ्चालनका लागि भन्दै टेन्टर सूचना प्रकाशन गरिएको हो।
कार्यालयले साविकको ग्रिनलाइन इन्टरनेशनलले सञ्चालन गरेको ड्युटी पे मदिरा पसल रहेको २२.१३९ वर्गमिटर क्षेत्रफलमा पसल सञ्चालनका लागि भन्दै सूचना प्रकाशन गरेको हो। 
ठेक्का अवधि ३ वर्षको रहने र न्यूनतम १ करोड ३१ लाख ५० हजार ५ सय ६६ रुपैयाँ तोकिएको छ। साथै उक्त रकम दोस्रो वर्षबाट भने विमानस्थल सेवा शूल्क नियमावली २०६७ को नियम १६ को उपनियम ६ अनुसार नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यअभिवृद्धि सूचाङ्कको अनुपातमा स्वतः वृद्धि हुने र सोही बमोजिम बोलपत्रवालाले थप भएको समेत वहाल रकम बुझाउनु पर्ने सूचनामा उल्लेख छ।
साथै टेन्डरमा सहभागी हुनेले कबुल रकमको ५ प्रतिशत रकम धरौटी राख्नु पर्ने छ।

 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।