काठमाडौं- बैंकहरु कर्जा लगानीमा आक्रमक देखिएका छन्। भदौ महिनामा वाणिज्य बैंकहरु निक्षेप संकलनभन्दा कर्जा विस्तारमा बढी आक्रामक देखिएका हुन्। बैंकहरु ठूला ठूला कर्जाभन्दा पनि खुद्रे कर्जामा बढी अग्रसर भएका हुन्। घर जग्गा, गाडी तथा शेयर कर्जामा बैंकहरुको लगानी बढ्दा भदौ एक महिनामै २६ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका हुन्। तर निक्षेप संकलन भने जम्मा १६ अर्ब रुपैयाँमात्रै छ।
वाणिज्य बैंकहरुले भदौ महिनासम्ममा २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्। साउन महिनामा बैंकहरुले २८ खर्च ७८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए। त्यस्तै भदौ महिनामा बैकहरुले ३४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। साउनमा बैंकहरुले ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।
ठूला ठूला कर्जाको माग नआए पनि बैंकहरु सानो सानो कर्जामा केन्द्रित हुन थालेका हुन्। नविल बैंकजस्तो ठूलो बैंकले पनि खुद्रे कर्जामा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ। साना साना ऋणीलाई आकर्षित गर्न मोबाइल कर्जादेखि लिएर दुई पाङ्ग्रे अटोमा पनि कर्जा लगानी बढाइरहेका हुन्।
अहिले ठूला ठूला व्यवसाय चौपट छ। नयाँ लगानीका लागि लगानीकर्तामा कन्फिडेन्स छैन। त्यसैले गर्दा ठूला ठूला कर्जाको माग नै नभएको बैंकहरु बताउँछन्।
नेपालमा कोभिड- १९ को महामारी सुरु भएदेखि नै बैंकबाट खासै कर्जा जान सकेको थिएन। तर भदौ लागेसँगै उल्लेख्य मात्रामा कर्जा विस्तार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।