काठमाडौं–नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना कोरोना कहरमा डेढ करोड रुपैयाँको गाडी किन्ने योजनाबाट पछि हटेका छन्। अहिलेको अवस्थामा गाडी किन्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि अब भाडाको गाडी चढ्ने ढुंगानाले बताए। ‘कोरोना कहरमा डेढ करोडको गाडी किन्दै धितोपत्र बोर्ड अध्यक्ष ढुंगाना’ शीर्षकमा भदौ ३० गते नेपाल लाइभमा समाचार प्रकाशित भएको थियो।
अहिलेको गाडी चढ्नै नसक्ने अवस्थाको भएकाले अब भाडाको गाडीका लागि सार्वजनिक सूचना जारी गर्ने उनले नेपाल लाइभलाई बताए।
यस अगाडिका अध्यक्ष डा रेवतबहादुर कार्की चढेको गाडी धेरै पटक बिग्रिएर चल्नै नसक्ने अवस्थामा पुगेको बोर्डले जनाएको छ। उक्त गाडी किन्नेबित्तिकै इन्जीन बिग्रिएर फेर्नु परेको बोर्डको भनाइ छ। नियामक निकायका प्रमुखले चढ्ने गाडी दुई करोड रुपैयाँ हाराहारीको हुने गरेकोमा आफूले सवा करोड रुपैयाँको गाडी खरिद गर्न लागेको उनले स्पष्ट पारे।
उनले भने, ‘अहिले कोरोनाको माहामारीका बेलामा नियामक निकायले महंगा गाडी चढ्नु हुँदैन भन्ने मलाई पनि थाहा छ, रहरले भन्दा पनि बाध्यताले गाडी किन्नु परेको हो ।’
उनले यस्तो समयमा यति महंगो गाडी किन्ने भन्दै विरोध आउन थालेपछि गाडी किन्ने योजना नै स्थगित गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।