काठमाडौं–आठ दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ। डा केसीको रगतमा चिनीको मात्रा कम हुँदा शरीरका प्रमुख अंगहरुमा समस्या देखिन थालेको छ।
डा केसीका सहयोगी महेन्द्र कार्कीका अनुसार उनी अझै उपचार नलिने अडानमा छन्। स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई शनिबार अनशनस्थलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। केसीलाई अस्पतालको आइसीयुमा राखिएको छ। उनले आफूसँग भएका पूर्वसहमति कार्यान्वयन नभएसम्म अनशन जारी राख्ने बताएका छन्। केसी भदौ २९ गतेदेखि जुम्लामा अनशनरत छन्। केसीको मागबारे सरकारले हालसम्म केही बोलेको छैन।
प्रतिष्ठानले भने डा केसीले स्वास्थ्य जाँच तथा उपचार पूर्णरुपमा अस्वीकार गरिरहेको सन्दर्भमा जाँच तथा उपचारका लागि सहज हुने स्थानमा स्थानान्तरण गर्नु वेश हुने जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।