काठमाडौं–गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नबिकेको ५ लाख ९० हजार १४ कित्ता हकप्रद शेयर बोलकबोल लिलाममार्फत् बिक्री गर्ने भएको छ। कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म चुक्ता पुँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो।
कम्पनीले ९३ लाख ८५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दा जम्मा ८७ लाख ९५ हजार १८६ कित्तामात्रै बिक्री भएको थियो। कम्पनीले बिक्री नभएको सर्वसाधारण समूहको दुई लाख ५२ हजार कित्ता र संस्थापक समूहको तीन लाख ३७ हजार कित्ता हकप्रद शेयरका लागि बोलकबोल आह्वान गरेको हो।
लगानीकर्ताले न्युनतम १०० कित्तादेखि अधिकतम माग गरिएजतिकै लागि आवेदन दिन सक्नेछन्। हाल कायम शेयरधनीको हकमा भने बिमा समितिले तोकेको न्युनतम होल्डिङ ननाघ्ने गरि आवेदन दिनु पर्नेछ। प्रतिशेयर एक सय रुपैयाँभन्दा माथिको लागि बोलकबोल लिलाम आवेदन दिन सकिनेछ।
हाल दोस्रो बजारमा कम्पनीको सर्वसाधारण शेयर मूल्य ६३९ रुपैयाँ रहेको छ। एक वर्ष अवधिमा कम्पनीको बजार मूल्य अधिकतम १०७७ रुपैयाँसम्म पुगेको छ। संस्थापकतर्फ भने दुई वर्ष अगाडि ५२० रुपैयाँमा कारोबार भएको थियो।
बोलकबोल आवेदन एनएमबी क्यापिटल नागपोखरी तथा एनएमबी बैंकका केही शाखा कार्यालयबाट दिन पाइनेछ। बोलकबोल लिलामको आवेदन असोज १९ गते खोलिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।