एजेन्सी–अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २ लाखनजिक पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १ लाख ९९ हजार ४ सय ७४ पुगेको हो। हालसम्म अमेरिकामा ६७ लाख ९४ हजार ७ सय २४ जना संक्रमित भएका छन्।
अमेरिकाका ३१ वटा राज्यहरुमा गत साता अघिल्लो साताको तुलनामा १० प्रतिशतले संक्रमण दर वृद्धि भएको छ। जम्मा ४ वटा राज्यहरु डेलावेर, हवाइ, लुसियाना र मिसिगनमा मात्र संक्रमण १० प्रतिशतले घटेको छ। यस्तै, अलास्का, अर्कान्सास, क्यालिफोर्निया, जर्जिया, इलिनोइस, मेनी, मेरिल्याण्ड, नेभाडा, नर्थ क्यारोलिना, ओहियो, ओरेगन, पेन्सिलभेनिया, रोडे आइल्याण्ड, भर्जिनिया र वाशिङटनमा संक्रमण स्थिर छ।
उटहमा शुक्रबार १ हजार १ सय १७ जना संक्रमित थपिएका छन्। गभर्नर ग्यारी हर्बर्टले राज्यमा लगाइएको संकटकाल अक्टोबर २० सम्मका लागि लम्ब्याएका छन्। यस्तै, विस्कन्सिनमा पनि २ हजार ५ सय ३३ जनामा संक्रमण देखिएपछि राज्यका अधिकारीहरुले घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन र ६ फिटको दूरी राख्न भनेका छन्।
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युयोर्कमा ३३ हजार ८७ जनाको मृत्यु भएको छ भने न्युजर्सीमा १६ हजार ६७, टेक्सासमा १५ हजार ८८, क्यालिफोर्नियामा १५ हजार १६ र फ्लोरिडामा १३ हजार २ सय ९६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।