सर्लाही–सर्लाहीको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्ब रुपैयाँभन्दा बढीको तरकारी निकासी भएको छ। लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो।
लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।
जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको छ। त्यस्तै परबल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिण्डी, काउली, बन्दा, भान्टा, घिरौँला, झिँगनी, लौका, फर्सी, मुन्गा र मुलालगायतका पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जनाएको छ ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिकरूपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन्। परम्परागत अन्नबाली छोडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीबासीले करिब एक हजार बिघा जमिनमा तरकारी खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।