बागलुङ–बागलुङको ढोरपाटनका बाढी प्रभावित परिवारका लागि ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ। युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो।
बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक रु पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिए। ‘पाँच सदस्य गुमाएको परिवारले रु ४४ हजार राहत रकम पाएका छन्,’ उनले भने। २२ मृतक परिवारले कुल रु छ लाख १३ हजार राहत रकम पाएका हुन् ।
यस्तै घाइते दुई जनालाई रु १०–१० हजार र बाढीले पूर्ण क्षति पुर्याएका ५५ घरका परिवारलाई रु आठ हजारका दरले राहत प्रदान गरिएको हो। आंशिक क्षति पुगेका ६१ मध्ये चार घरले रु चार हजार र अन्यले रु एक हजारका दरले राहत बुझेका थिए। बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्रीसमेत वितरण गरिएको गलकोट युसबी सेवा प्रालिका अध्यक्ष केशवविक्रम सिंहले बताए।
देश–विदेशबाट रहेका नेपालीहरुबाट सहयोग जुटेको युसबी सेवाका अध्यक्ष थापाले बताए। लक्जम्बर्गमा रहेका व्यवसायी जितु थापाको पहलमा दुई लाख रुपैयाँ राहत संकलन भएको थियो।
गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९ का २१ र गलकोट नगरपालिका–४ का एक जनाको ज्यान लिएको थियो । १६ जना अझै बाढीमा बेपत्ता छन्। बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ। सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।