वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताएका छन्।
‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ,’ उनले भने।
खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई दिइने पनि ट्रम्पले जानकारी दिए। उनले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकाले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताए।
शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उनले सो कुरा बताएका हुन्।
अमेरिकाका वरिष्ठ वैज्ञानिक र चिकित्सकहरु विगतदेखि नै यस कार्यमा लागिराखेको र उनीहरुले यो खोपको परीक्षण अन्तिम चरणमा पुगेको बताएका पनि ट्रम्पले उल्लेख गरेका छन्।
त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने उनले जानकारी दिए। उनले अब यो खोपको परीक्षण अन्तिम परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम थाल्ने जानकारी पनि दिए।
अमेरिकामा हालसम्म ६७ लाखभन्दा बढी सङ्क्रमित भेटिएका छन्। यहाँ १ लाख ९८ हजारभन्दा बढी नागरिकको यो संक्रमणबाट मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।