काठमाडौं–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
सविधान दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले वर्तमान विधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन्।
उनले उच्च सर्तकता र दृढ मनोबलका साथ कोरोना महामारीको सामना गर्न संविधान दिवसका अवसरमा सबैलाई आग्रह गरेका छन्।
संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने देउवाले बताएका छन्। ‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको व्यवहार जरुरी छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ’, विज्ञप्तिमा उल्लेख छ ।
त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि भइरहेको आरोप लगाउँदै देउवाले यसलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन्। आजको दिन लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सभापति देउवाले सरकारलाई अपील गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।