काठमाडौं–नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउमा भइरहेका प्रदर्शनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै उनले देश कोभिड–१९ का कारण आक्रान्त भएका बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन्।
‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु। प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ,’ उनले विज्ञप्तिमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।