काठमाडौं-पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबका फरवार्ड नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ। फ्रेन्च लिग वान फुटबलमा पिएसजी र मार्सेलीबीचको खेलमा रातो कार्ड खाएका नेयमारसहित पाँचै खेलाडी कारबाहीमा परेका छन्।
खेलको अतिरिक्त समयमा मार्सेलीका खेलाडीले फोउल गरेसँगै तनावपूर्ण स्थिति सिर्जना भएको थियो। मार्सेलीसँग १–० ले पिएसजी हारेको खेलमा दुई क्लबका खेलाडीबीच हात हालाहालसमेत भएको थियो। अध्ययनपछि नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको हो। नेयमारले मार्सेलीका अल्भारो गोन्जालेजलाई हातले टाउकोमा हानेपछि भिडियो एसिस्टेन्ट रेफ्रिको सहयोगबाट रातो कार्ड दिइएको थियो।
त्यस्तै, पिएसजीका डिफेन्डर लेविन कुर्जवा सबैभन्दा बढि प्रतिबन्धमा परेका छन्। उनलाई ६ खेलको प्रतिबन्ध लागेको छ। त्यस्तै, पिएसजीकै लिन्ड्रो परेडेसलाई पनि २ खेलको प्रतिबन्ध लागेको छ। यता मार्सेलीका जोर्डन अमाभीलाई ३ खेलको प्रतिबन्ध लाग्दा डरियो बेनेडेटोलाई १ खेलको प्रतिबन्ध लागेको हो।
मैदानबाट बाहिरिने पछि नेयमारले रंगभेद गरेको भन्दै गोन्जालेजमाथि अनुसन्धान गर्नु पर्ने माग राखेका थिए। फ्रेन्च फुटबल अधिकारीले रंगभेदको विषयमा अनुसन्धान हुने बताएको छ। तर गोन्जालेजले भने आफूले रंगभेद नगरेको र नेयमारको आरोप अस्वीकार गरेका छन्।
पिएसजीले नेयमारलाई रंगभेदविरुद्ध उभिन बलियो साथ दिने बताउँदै प्रेस विज्ञप्ति नै निकालेको छ। यता, मार्सेलीले भने गोन्जालेजले त्यस्तो रंगभेदी गतिविधि गर्न नसक्ने दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।