काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडमा रहेका ग्यारेथ बेल प्रिमियर लिग क्लब टोटनह्याम फर्कने प्रयासमा लागेका छन्। मड्रिडमा बेन्चमा बिताउनु परिरहेको मुस्किल समय छाडेर उनी पुरानो क्लब फर्कन लागेका हुन्।
टोटनह्याम पनि बेल लैजान इच्छुक देखिएको खबरहरु आइरहेका छन्। बेलका एजेन्ट रहेका जेनाथन बार्नेटले पनि बेल टोटनह्याम जाने विषय सकारात्मक देखिएको बताइरहेका छन्। ‘उनी अझै टोटनह्यामलाई धेरै माया गर्छन्। त्यसैले उनी टोटनह्याममा नै रहन चाहन्छन्’ उनले भनेका छन्।
बेललाई लैजान प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पनि प्रयास गरेको बताइएको छ। तर रियल मड्रिडमा बेलले लिइरहेको महँगो तलबका कारण सहज रुपमा सम्झौता हुन कठिन हुने बताइन्छ।
टोटनह्यामबाट २०१३ मा बेल ८५ मिलियन पाउण्डमा रियल मड्रिड गएका थिए। मड्रिडमा चार च्याम्पियन्स लिग जितेका बेलले क्लबका लागि एक सयभन्दा बढी गोल गरेका छन्। पछिल्ला वर्ष भने प्रशिक्षक जिनेदिने जिदानसँग चिसिएको सम्बन्धका कारण उनी धेरै समय बेन्चमा नै रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।