काठमाडौं– कप्तान ज्याक ग्रिलिसले इंग्लिस क्लब एस्टन भिल्लासँग थप नयाँ सम्झौता गरेका छन्। एस्टनसँग कप्तान ज्याकले ५ वर्षको नयाँ सम्झौता गरेका हुन्।
२५ वर्षीय ज्याक नयाँ सम्झौताअनुसार २०२५ सम्म एस्टन भिल्लामै रहनेछन्। इंग्ल्यान्डका मिडफिल्डर ज्याकले २०१३–०१४ को सिजन भने नट्स काउन्टी क्लबबाट लोनमा खेलेका थिए। त्यसपछि पुनः एस्टनबाटै खेल्दै आएका उनी आफ्नो खेल करियर यही क्लबमा सकाउने लक्ष्यमा छन्।
आफ्नो सम्झौता नविकरण भएकोमा खुशी रहेका ज्याकले भनेका छन्, ‘यो मेरो क्लब हो। मेरो घर हो। म यहाँ हुँदा धेरै खुशी छु।’
उनी पहिलो पटक नेसन्स लिगमा डेनमार्कविरुद्ध इंग्ल्यान्डको टिममा परेका थिए। सेप्टेम्बर ९ तारिखमा गोलरहित बराबरी खेलेको त्यो खेलमा ज्याक खेलको ७६औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए। उनी क्याल्भिन फिलिप्सको स्थानमा मैदानमा प्रवेश गरेका थिए।
ज्याककै कप्तानीमा एस्टनले प्रिमियर लिगको नयाँ संस्करणमा सेफिल्ड युनाइटेडसँग सेप्टेम्बर २१ तारिखमा खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।