काठमाडौं- लगातार सुधार भएको बजारबाट नाफा बुक गर्ने लगानीकर्ता बढेका छन्। लगानीकर्ताहरु अत्याधिक सुधार भएका बीमा कम्पनी तथा माइक्रोफाइनान्सको शेयर बिक्री गरेर बैंकको शेयर उठाउन थालेका छन्। बीमा कम्पनीहरुको नाफा बुक गर्ने क्रममा निर्जीवन बीमाको सूचक २५४ अंकले घटेको छ भने जीवन बीमा कम्पनीको सूचक ७९ अंकले घटेको छ।
तर वाणिज्य बैंकको सूचक भने १४ अंकले सुधार भएको छ। लगानीकर्ताले बीमा कम्पनीको शेयर बिक्री गरेर वाणिज्य बैंकको शेयर उठाउदा केही समय रातोदेखिए पनि पुनः सुधार भएको थियो। सस्ता विकास बैंकको शेयर उठाउने क्रममा सोमबार विकास बैंकको सूचक २० अंकले सुधार भएको छ।
पछिल्लो समय दोस्रो बजारमा ट्रेडर हाबी छन्। केही सुधार हुनेबित्तिकै नाफा बुक गर्ने र केही तल झर्नेबित्तिकै खरिद गर्ने लगानीकर्ताका कारण तीव्र उतारचढाव देखिएको हो। सोमबार नेप्से सूचक ३.२६ अंकले सुधार भएर १५४०.५१ अंकमा रोकिएको छ।
पोर्टफेलियो परिवर्तन गर्ने क्रममा सोमबार तीन अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार सुरु हुने बित्तिकै केही सुधार देखिए पनि ११ बजेर ४५ मिनेटसम्ममा १५३८ अंकमा तल झरेको हो। नाफा बुक गर्ने क्रममा सूचक तल झरे पनि लगानीकर्ता वाणिज्य बैंकमा झम्मिदा सूचक सुधार भएको हो।
सोमबार १९० वटा कम्पनीको कारोबार हुँदा ८५ वटाको मूल्य सुधार भएको छ भने ७४ वटाको मूल्यमा गिरावट आएको छ। १० वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।