काठमाडौं–माउन्टेन इनर्जीले भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले यस अगाडि साउन ८ गतेदेखि आइपिओ निष्काशन गर्ने तयारी गरेको थियो। बाढीपहिरोले जनजीवन प्रभावित भएपछि कम्पनीले आइपिओ निष्काशन गर्न सकेको थिएन।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरका १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर उद्योग अति प्रभावित क्षेत्र (नुवाकोट जिल्लाका पञ्चकन्या गाउपालिका वडा नं ४-साविकको थप्रेक गाविस) र तादी गाउँपालिका २, ३ र ४-साविक रालुकादेवी र सुन्दरादेवी गाविस र म्याग्दी जिल्लाका अति प्रभावित क्षेत्र (अन्नपूर्ण गाउपालिका वडा नं ४-साविकको नारच्याङ्ग गाविस)) साथै उद्योग प्रभावित क्षेत्र (नुवाकोट जिल्ला तादी गाउपालिका, पञ्चकन्या गाउपालिका, लिखु गाउपालिका र म्याग्दी जिल्लाका अन्नपूर्ण गाउपालिका) मा स्थायी बसोबास गर्नेहरुलाई जारी गरेको हो।
प्रभावितले १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको आवेदन दिनसक्ने छन्। कम्पनीले नुवाकोटमा मिष्ट्री खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजना निर्माण गरेको छ। मिष्ट्री खोलाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रुपैयाँ र तादी खोलाको १८ करोड ४९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। दुवै आयोजनाको कुल लागत ६ अर्ब ५६ करोड रुपैयाँ लाग्ने छ।
कम्पनीले प्रभावितका लागि छिटोमा असोज १४ गतेसम्म र ढिलोमा असोज २९ गतेसम्म बिक्री खुला गर्नेछ। प्रभावितले आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।