काठमाडौं-फ्रेन्च लिग वान फुटबलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ। आइतबार राति भएको खेलमा मार्सेलीसँग पिएसजी १–० गोलले स्तब्ध बनेको हो।
आफ्नै घरेलु मैदानमा भएको खेलमा पिएसजीले तीन अंक मार्सेलीलाई सुम्पेको हो। तनाबपूर्ण खेलमा दुबै टिमका ५ खेलाडीले रातो कार्ड समेत पाए। खेलको ३१औं मिनेटमा फ्लोरियन थाभिनले गोल गर्दै मार्सेलीलाई १–० गोलको अग्रता दिलाएका थिए।
खेलको अन्तिम समयमा भने तनावपूर्ण स्थिति सिर्जना भएको थियो। खेलको अतिरिक्त समयमा मार्सेलीका खेलाडीले फोउल गरेपछि तनाव बनेको खेलमा दुई क्लबका खेलाडीबीच हात हालाहालसमेत भयो।
पिएसजीका तीन र मार्सेलीका दुई गरी पाँच खेलाडीले रातो कार्ड पाएका हुन्। पिएसजीका लिन्ड्रो परेडेस, लेविन कुर्जवा र नेयमारले रातो कार्ड खाए। नेयमारले भने मार्सेलीका अल्भारो गोन्जालेजलाई टाउकोमा हातले हानेको कारण रेड कार्ड पाएका थिए। त्यस्तै, मार्सेलीका जोर्डन अमाभी, डरियो बेनेडेटोले रेड कार्ड पाए।
यसअघि पहिलो खेलमा पिएसजी लेन्ससँग १–० गोलअन्तरले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।