बागलुङ-
‘आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए’ (पुरुष)
‘घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर’ (महिला)
यी शब्द लोकगायक विष्णु खत्रीको दसैं गीत ‘रिनै रिनकाे’ का हुन्। गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ। श्रीमानले दसैंमा घर आउने दिनको ठेगान छैन भन्छन्। श्रीमतीलाई जीवनसाथी नभएको गाउँघर शून्य लाग्छ।
श्रीमान् भन्छन्-के दसैं मान्छ्यौ र रिनै रिनको
मेरो केही भर छैन आउने दिनको...
श्रीमती भन्छिन्-के दसैं मानौ र रिनै रिनको
शून्य छ गामवेशी तिमी बिनाको...
कोरोना महामारीका कारण कमाइ गुमेको छ। दसैं खर्च पठाउन सक्ने स्थिति छैन। यता श्रीमतीलाई बालबच्चा र घर धान्न गाह्रो छ। परदेशी कहिले आउँछन् भनेर बाटो कुर्न विवश छिन्।
भन्छिन्-चर्न गाको गाई गोठमा फर्कन्छ
साँझपख झनै मन चर्कन्छ...
श्रीमान् आफैसँग गुनासो गर्छन्-
बाउ त बने बाउ जस्तो भैन म
हेर्नै छाडेँ आफ्नो मुख ऐनामा...
चाडबाडमा पनि परिवारको मन दुःखाएकामा उनी पछुतो मान्छन्। परदेशी हुनुको विवशता स्वीकार्छन्। गीतको सवालजवाफ अघि बढ्छ । आखिरीमा श्रीमती पुकारा गर्छिन्।
मर्न पाए तिम्रो मुख हेरी
छोड्थ्यो कि त सुसाउन सल्लेरी
रिनै रिनको...
गीत टुंगिन्छ। गत आइतबार खत्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोले युट्युबमा हालसम्म तीन लाखभन्दा बढी भ्युज बटुलेको छ। गीतमा खत्री र गायिका पूर्णकला बिसीको स्वर छ । रचना र संगीत पनि गायक खत्रीकै छ।
सुमधुर क्रियशनद्वारा उत्पादित गीतको म्युजिक भिडियोमा कलाकार ओवी रायमाझी र सारिका केसीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन कपिल लामाले गरेका छन्। मन छुने शब्द, स्वर, मौलिक भाका र ग्रामीण परिवेश झल्काउने भिडियोका कारण गीतलाई स्रोता÷दर्शकले रुचाएका छन्।
लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘दशैँ तिहार सँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’, ‘कति रुनी हो’ लगायत दर्जनभन्दा बढी दशैँ गीत सार्वजनिक भएका छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका उनी दुई दशकदेखि लोकसंगीतमा सक्रिय छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।