काठमाडौं- बीमा कम्पनीमा आएको उछालले समग्र शेयर बजार नै उचालिएको छ। दोस्रो बजारमा नेपाल पुनर्बीमासहित बीमा कम्पनीहरुको बजार हिस्सा झण्डै १० प्रतिशत छ। आइतबार जीवन बीमा को सूचक २८० अंकले र निर्जीवन बीमा कम्पनीको सूचक ३११ अंकले सुधार देखिएको छ। त्यस्तै होटलको सूचक पनि ५८ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा समस्या आउदा दुई घण्टाभन्दा लामो समय बन्द भएको शेयर बजार सवा दुईदेखि मात्रै पुनः सञ्चालन भयो। रोकिएको अवधि थप गर्ने क्रममा सोमबार ५ बजेर १५ मिनेटसम्म कारोबार सुचारु भएको छ।
प्रणालीमा समस्या आएर सुरु हुँदा नेप्से सूचक १५.८९ अंकले सुधार भएको छ। नेप्से सूचक १.०५ प्रतिशतले सुधार भएर १५३६.५८ अंकमा रोकिएको छ।
सूचकमा लगातार सुधार भएसँगै दोस्रो बजारमा कारोबार रकम पनि बढ्न थालेको छ। आइतबारमात्रै तीन अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ। ५ वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ।
सोमबार १९१ वटा कम्पनीको कारोबार हुँदा ९९ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने ५२ वटाको मूल्य घटेको छ। पछिल्लो समय दोस्रो बजार लगातार सुधार भइरहेको छ। बैंकमा तरलता प्रसस्त हुँदा बैंकहरुको कर्जा शेयरमा गइरहेको छ। बजार सुधार हुने अपेक्षामा लगानीकर्ताले बैंकबाटै कर्जा लिएर शेयर खरिद बिक्री गरिरहेका छन्। बजार बढ्ने मनोविज्ञानका कारण पेनिक सेल भन्दा पनि नाफापछिको बिक्रीले बजारमा लगानीकर्ताको उत्साह छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।