काठमाडौं- नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीको निर्माता वाइकोले नै समस्या पत्ता लगाउन नसक्दा पटक पटक एउटै समस्या देखिन थालेको छ। पछिल्ला दुई सातामा नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा तीन पटक समस्या आइसकेको छ। वाइको र नेप्सेको प्राविधिक समूहले धेरै प्रयास गर्दा पनि आइतबार कारोबार हुने टुङ्गो छैन।
विगत दुई सातामा तीन पटक नै एउटै समस्या देखिदै आएको छ। कारोबार सुरु भएको केहि समय सञ्चालन हुने वित्तीकै समस्या देखिँदा कारोबार नै प्रभावित हुँदै आएको छ। भदौ २५ गते पनि नेप्सेको कारोबार प्रणालीमा समस्या देखिदा दुई घण्टा कारोबार बन्द भएको थियो। बन्दा भएको समय थप गर्दै नेप्सेले ५ बजेसम्म बजार खुला गर्नु परेको थियो।
नेप्सेको अनलाइन प्रणालीमा उद्घाटन भएकै दिनदेखि समस्या देखिएको थियो। पटक पटक प्रणालीमा समस्या देखिदा नेपाल स्टक एक्सचेन्ज नै आजित भइसकेको छ। वाइकोले प्रणालीमा कुनै पनि समस्या नभएको भन्दै हस्तान्तरण गरे पछि पनि समस्या देखिदै आएको छ। अहिले नेप्सेमा देखिएको समस्या समाधान गर्न पनि नेप्सेले शुल्क तिर्नुपर्छ।
टिएमएसले काम गर्नै छाडेपछि लगानीकर्ताले स्वचालित रुपमा अनलाइन कारोबार गर्न पाएका छैनन्। करोडौ रुपैयाँ खर्चेर तयार पारिएको प्रणालीमै समस्या आएको छ। २०७५ कार्तिक २० गतेदेखि सुरुवात गरिएको यो प्रणाली निर्माण गर्न १९ करोड रुपैयाँ लागेको थियो। २ वर्ष ८ महिनाभन्दा लामो समय लगाएर निर्माण गरिएको यो अनलाइन प्रणालीमा धेरै पटक समस्या आइसकेको छ।
विश्वमै अनलाइन प्रणालीको विकास सामान्य विषयवस्तु हो। कारोबारका लागि अनलाइन प्रणाली सामान्य प्ल्याटफर्ममात्रै हो। तर यसैलाई ठूलो हौवा दिएर सरकारी निकायको ठुला सुस्त प्रणालीले पटक पटक समस्या देखिएको हो। सरकारको स्वामित्व रहेको नेप्सेको व्यवस्थापन नै यसको ठुलो समस्या हो। कुनै एउटा निजी कम्पनी हुने थियो भने यस्ता समस्या निकै कम आउछन्। अहिले बैंक तथा वित्तीय संस्थादेखि लिएर सम्पुर्ण क्षेत्रमा अनलाइन प्रणाली छ।
सामान्य रुपमा समस्या आउनु ठुलो कुरा होइन तर प्रणाली मै पटक पटक समस्या आउनुले नेप्सेको टेण्डर प्रणालीभित्र लुकेका सम्झौता र सफ्टवेर निर्माण गर्ने वाइको प्रति नै ठूलो प्रश्न खडा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।