काठमाडौं–डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ।
शनिबारबाट सुरु भएको नयाँ सिजनको खेलमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४–३ गोलअन्तरले पराजित गरेको हो। आफ्नै मैदानमा लिड्सलाई पराजित गर्ने क्रममा मोहम्मद सलाहले ह्याट्रिक गोल गरे। त्यस्तै, भर्जिल भान डाइकले एक गोल थपे। लिड्सका लागि भने ज्याक ह्यारिसन, पेट्रिक बामफोर्ड र माटेस्ज क्लिचले समान १–१ गोल गरे।
खेलको चौथो मिनेटमा नै पेनाल्टीबाट सलाहले गोल गर्दै लिरभपुललाई अग्रता दिलाए। तर खेलको १२औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १–१ गोलको बराबरी दिलाए। भान डाइकले खेलको २०औं मिनेटमा गोल गरेसँगै लिभरपुल २–१ गोलले अघि रह्यो। खेलको ३०औं मिनेटमा लिड्सले गोल गर्दै पुनः खेल बराबरीमा ल्याए। यो पटक पेट्रिकले गोल गरेका थिए। तर बराबरीमा ल्याएको तीन मिनेटपछि नै मोहम्मद सलाहले अर्को गोल थप्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए।
पहिलो हाफमा ३–२ गोलअन्तरले पछि रहेको लिड्सले खेलको ६६औं मिनेटमा माटेस्जको गोलबाट ३–३ गोलको बराबरी बनाएको थियो। तर ८८औं मिनेटमा पेनाल्टीबाट सलाहले गोल गर्दै ह्याट्रिक पूरा गरे। उनको ह्याट्रिकसँगै लिभरपुलले आफ्नो पहिलो खेलमा ४–३ गोलको जित दर्ता गर्याे।
त्यस्तै, अन्य खेलमा फुलहामलाई आर्सनलले ३–० गोलअन्तरले पराजित गर्दा न्युक्यासलले वेष्टहामलाई २–० र क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० गोलअन्तरले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।