काठमाडौं- नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७७ मा प्रशुन सिन्धुलियाद्वारा निर्मित ‘देशलाई छुने पाइला’ नामक लघु चलचित्र प्रथम भएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रतियोगितामा सर्वाेत्कृष्ट ठहरिएको उक्त चलचित्रका निर्माता सिन्धुलियालाई दुई लाख नगद तथा प्रमाणपत्र प्रदान गरेका छन्। प्रतियोगितामा पुरुषोतम बस्नेतको ‘रगत’ द्वितीय र वसन्त अधिकारीद्वारा निर्मित ‘लक्ष्य’ तृतीय घोषित भयो। प्रतियोगितामा दोस्रो र तृतीय हुने चलचित्रले क्रमशः एक लाख ५० हजार र एक लाख नगद र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा अनिरुद्ध दुवाडीको ‘समर्पण’ र अनिलकुमार महर्जनको ‘गौरव’ नामक लघु चलचित्र सान्त्वना घोषित भए। समारोहमा सान्त्वना स्थान प्राप्त गर्ने चलचित्रलाई २५/२५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ। उक्त प्रतियोगिताका लागि ३८ वटा निवेदन प्राप्त भएकामा छायाङ्कनपछि १० वटालाई प्रतिस्पर्धामा समावेश गरिएको निर्णायक समूहका संयोजक एवं चलचित्र अभिनेत्री सरिता लामिछानेले जानकारी दिइन्।
समारोहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने चलचित्र प्रदर्शन गरिएको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २०६७ देखि यो प्रतियोगिता गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।