काठमाडौं-पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलमा आफ्नो पहिलो खेलमै पराजित भएको छ।
बिहीबार राति भएको खेलमा लिग वानमा उक्लिएको टिम लेन्ससँग पिएसजी १–० गोलअन्तरले स्तब्ध बनेको हो। पहिलो रोजाईका आफ्ना सात स्टार खेलाडी विनै मैदानमा उत्रिएको पिएसजी आफ्नो पहिलो खेलमै पराजित हुन पुगेको हो।
करिब ५ हजार दर्शकलाई प्रवेश दिइएको खेलमा घरेलु टोली लेन्ससँग पराजित हुनुको मुख्य कारण नै पिएसजीले प्रतिद्धन्दी टिमलाई कमजोर मान्नु हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको पिएसजीले खेलअवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो। तर नेयमार, केलियन एम्बाप्पे जस्ता फरवार्डको अभावमा गोल गर्न भने सकेन। एम्बाप्पे भने कोरोना भाइरस संक्रमणको कारण आइसोलेसनमा बसेका छन्।
खेलको ५७औं मिनेटमा इंग्नाटिस गनागोले गोल गर्दै लेन्सलाई अग्रता दिलाए। बाँकी समयमा पिएसजीलाई रोक्दै आफ्नो दोस्रो खेलमा १–० को जित हात पारेको हो। लेन्सले यसअघि लिग वानमा आफ्नो पहिलो खेलमा नाइससँग २–१ गोलको हार ब्यहोरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।