काठमाडौं- वाणिज्य बैंकहरुले भदौ तेस्रो सातामा निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढाएका छन्। त्यस्तै एक सातामै ५ अर्बले कर्जा विस्तार गरेका छन्।
कोभिड १९ को संक्रमण बढ्दै जाँदा नेपाल सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने क्रममा बैंकहरुको निक्षेप तथा कर्जा विस्तार रोकिएको थियो। तर भदौ महिनामा कर्जा विस्तार तथा निक्षेप संकलन पुरानै लयमा फर्किएको छ।
भदौ तेस्रो सातासम्ममा बैंकहरुले ३४ खर्ब ९१ अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन्। भदौ एक महिनामा मात्रै बैंकहरुले १२ अर्ब रुपैयाँले निक्षेप बढाएका छन्।
त्यस्तै भदौ तेस्रो सातामा बैंकहरुले ५ अर्ब रुपैयाँले कर्जा लगानी गरेका छन्। यस अवधिमा बैंकहरुले २८ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। भदौ महिनामा मात्रै बैंकहरुले १९ अर्ब रुपैयाँले कर्जा वृद्धि गरेका छन्।
यस अवधिमा बैंकहरुले पुराना कर्जाको नवीकरण गरेका छन्। केही बैंकले ब्याजलाई पुँजीकरण गर्ने क्रममा बैंकको कर्जा लगानी बढेको देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।