काठमाडौं- नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना बिमा गरेको छ। कोरोनाको जोखिम बढेसँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना बिमा गराएको हो।
अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना बिमा गरिएको संघका महासचिव सन्देश रेग्मीले जानकारी दिएका छन्।
‘हामीले पहिलो चरणमा १ सय १९ जनाको बिमा गरेका छौं, अझै करिव ५० जना बाँकी छन, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साता भित्रै सबैको बिमा गर्दैछौं’ उनले भने। सबै प्रदेश र जिल्लाहरुबाट बिमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए ।
संघले जुनियर तथा सिनियर लेभलमा केही वर्षदेखि यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना बिमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए। उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत बाँढ्नका लागि सबै जिल्लाहरुबाट नाम संकलन गर्ने काम भइरहेको बताउँदै यसका लागि आर्थिक विनियम समेत संघले तयार पारिसकेको जानकारी दिए।
अन्तर्राष्टिय ह्याण्डबल महासंघले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्विस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।