काठमाडौं- मोतिहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइन संचालनमा आएको १ वर्ष बितेको छ। यो एक वर्ष अवधिमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात पाइपलाइनबाट आयात भएको र ढुवानीमा खर्च हुने पौने १ अर्ब रुपैयाँ बराबर जोगिएको नेपाल आयल निगमले जनाएको छ।
दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइन मानिएको मोतिहारी–अगलेखगा पेट्रोलियम पाइपलाइन तोकिएको समय सीमाभन्दा करीब आधा समय अगावै निर्माण सम्पन्न भएपछि गत वर्ष भदौ २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
६९ किलोमिटर लामो यस पाइपलाइनबाट निगमको २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगंजले निरन्तर रुपमा डिजेल आयात गर्दा एक वर्षको अवधिमा ५३ करोड ४१ लाख ३ हजार लिटर डिजल आयात भएको निगमले जनाएको छ।
पाइपलाइनमार्फत् पेट्रोलियम पदार्थ आपूर्ति गर्दा ढुवानी भाडामा उल्लेख्य बचत भएको, पेट्रोलियम पदार्थको गुणस्तरता सुनिश्चित भएको, प्रदुषण न्यूनीकरणमा सहयोग पुगेको र रक्सौल नाकामा हुने ट्राफिक जाममा समेत कमी आएको निगमले जनाएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटअनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजना रहेको छ।
उक्त पाइपलाइन विस्तारको काम पनि भइरहेको निगमले जनाएको छ। पाइपलाइन नभएको अवस्थामा भारतको मोतिहारीदेखि अमलेखगंज डिपोसम्म इन्धन ढुवानी गर्न प्रतिलिटर औसत ५० पैसा ढुवानी भाडा लाग्ने गरेको थियो। पाइपलाइन संचालनमा आएपछि डिजलको ढुवानी रकममा उल्लेख्य कमी आएको पनि निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।