काठमाडौं–नागरिक लगानी कोषले ८२.८४ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ। कोषले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २० प्रतिशत बोनस शेयर दिने निर्णय गरिसकेको छ।
बोनस शेयर पछिको पुँजीमा हकप्रद निष्काशन गर्नेछ। गत असारमा सम्पन्न साधारणसभाले २२ प्रतिशत बोनस शेयर र बोनस शेयर वितरणपछि कायम हुने पुँजीको ८२.८४ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय पारित गरेको थियो।
हाल कोषको चुक्ता पुँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपछि चुक्ता पुँजी तीन अर्ब पुग्नेछ। कोषले आफ्नो संसोधित ऐनमा चुक्ता पुँजी ४ अर्ब पुर्याउने व्यवस्था गरेको छ। यही व्यवस्था अनुसार कोषलाई अझै एक अर्ब रुपैयाँ पुँजी आवस्यक पर्छ।
कोषको ऐनमा जारी पुँजी ८ अर्ब र चुक्ता पुँजी तीन अर्ब रुपैयाँ रहेको छ। ऐनमा भएको व्यवस्था अनुसार कोषले हकप्रदमार्फत् चुक्ता पुँजी जु्टाउने भएको छ।
हाल कोषमा नेपाल सरकारको २३.३ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ३१.५५ प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत, अन्य बैंक तथा वित्तीय संस्थाको १५.११ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर पुँजी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।